पथरी अपडेट
माेरङ। गर्मी मौसमको आगमनसँगै बजारमा आँपको चहलपहल सुरु भएको छ । ‘फलफूलको राजा’को उपमा पाएको आँप स्वाद र स्वास्थ्यका दृष्टिकोणले अत्यन्तै लाभदायक मानिन्छ । विशेष गरी तराईका क्षेत्रमा प्रशस्त मात्रामा उत्पादन हुने आँप अहिले देशका अधिकांश स्थानमा सहज रूपमा उपलब्ध छ ।
पौष्टिक तत्वले भरिएको आँप नेपालीहरूका लागि मात्र नभई विश्वभरकै उपभोक्ताहरूको रोजाइको फल हो ।
चिकित्सकहरूका अनुसार, आँपमा पाइने फाइबर, प्रोटिन र उच्च मात्राको भिटामिन ‘सी’ले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ । साथै, छालासम्बन्धी समस्या हटाउन र छालाको चमक बढाउन समेत यो फल उपयोगी मानिन्छ ।
भिटामिन ‘ए’ को स्रोतका रूपमा परिचित आँपले दृष्टि शक्ति मजबुत बनाउन मद्दत पुर्याउने विज्ञहरू बताउँछन् । आँखा सुख्खा हुने समस्या कम गर्ने यसको विशेषता समेत छ । त्यस्तै, आँपमा रहेको फाइबरले पाचन प्रणालीलाई मजबुत बनाउने काम गर्छ भने यसमा पाइने क्यारोटिनोइड्स, भिटामिन ‘सी’ र ‘ए’ प्रतिरक्षा प्रणालीलाई सुदृढ गर्न सहायक हुन्छन् ।
गर्मी याममा स्वादिलो मात्र नभई स्वास्थ्यवर्द्धक फलको रूपमा आँपको प्रयोग बढ्दो छ ।