पथरी अपडेट
पथरी।पथरीशनिश्चरे–४ मा अवस्थित बाल जागरण विद्या मन्दिरले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सतप्रतिशत सफलता हासिल गर्दै उत्कृष्ट नतिजा ल्याएको छ । विद्यालयबाट सहभागी २८ जना विद्यार्थीमध्ये अधिकांशले उच्च जिपिए ल्याएका छन् ।
विद्यालयका अनुसार १ जना विद्यार्थीले ३.७६ जिपिए प्राप्त गरेका छन् भने १६ जना विद्यार्थीले ३.३१ भन्दा माथि र ११ जनाले २.८१ जिपिएभन्दा माथिको नतिजा ल्याएका छन् ।
विद्यालयका निर्देशक लिलबहादुर कार्कीले एसईई नतिजालाई बाल जागरणको समर्पित शिक्षण प्रणालीको प्रतिफलका रूपमा व्याख्या गर्नुभयो । “हामी विद्यार्थीको व्यक्तिगत आवश्यकतालाई बुझेर शिक्षण–प्रशिक्षणमा ध्यान दिन्छौं,” उनले भने, “यो नतिजा सम्पूर्ण शिक्षक, अभिभावक र विद्यार्थीहरूको समन्वय र मिहिनेतको नतिजा हो ।”
प्रधानाध्यापक एनबी कार्कीले विद्यालयले शैक्षिक क्षेत्रसँगै अतिरिक्त क्रियाकलापमा पनि विशेष ध्यान दिएको बताउनु भयो । “हामी सैद्धान्तिक ज्ञानसँगै विद्यार्थीको व्यवहारिक क्षमता विकासमा पनि केन्द्रित छौं,” उहाँले भन्नुभयो, “यसले विद्यार्थीको समग्र व्यक्तित्व निर्माणमा योगदान पुर्याइरहेको छ ।”
बाल जागरण विद्या मन्दिरले विगतदेखि नै शैक्षिक उत्कृष्टता, अनुशासन र संस्कारलाई प्राथमिकतामा राख्दै शिक्षण गतिविधि सञ्चालन गर्दै आएको छ । साथै, विद्यालयले अतिरिक्त क्रियाकलाप–जस्तै वक्तृत्वकला, नृत्य, खेलकुद, विज्ञान प्रदर्शनीजस्ता कार्यक्रमहरूमा समेत सक्रिय सहभागिता जनाउँदै आएको छ ।