पथरी अपडेट। मोरङको पथरी शनिश्चरे नगरपालिकामा पहिलोपटक वडा नं. ८ का वडाध्यक्ष नवीन कार्कीको अगुवाइमा केही वर्षअघि सुरु गरिएको ‘शिक्षासँगै सिप कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ ।
वडा नं. ८ का तीन वटा विद्यालयमा सञ्चालन भइरहेको उक्त कार्यक्रम मार्फत् विद्यार्थीहरूले औपचारिक शिक्षासँगै विभिन्न व्यावहारिक तथा सीपमूलक ज्ञान हासिल गर्न थालेका छन् ।
वडाको बुद्ध माध्यमिक विद्यालय, मिलन आधारभूत विद्यालय र दुर्गा आधारभूत विद्यालयमा सञ्चालन गरिएको ‘शिक्षासँगै सिप कार्यक्रम’ले विद्यार्थीको आकर्षण समेत बढाउँदै गएको वडाध्यक्ष नवीन कार्कीले बताउनुभयो । कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले तेक्वान्दो, हाउस वायरिङ, प्लम्बिङ, पशु सेवा, सिलाइकटाइ तथा फेसन डिजाइन, संगीत, नृत्य र बाँसजन्य सामग्री निर्माण लगायतका सीप सिकिरहेका छन् ।
वडाध्यक्ष कार्कीका अनुसार सैद्धान्तिक शिक्षासँगै व्यावहारिक शिक्षालाई पनि प्राथमिकता दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । उहाँले भन्नुभयो–‘विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक सीप प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो। सामान्य घरायसी समस्या समाधान गर्न पनि अर्को व्यक्तिलाई बोलाउनुपर्ने बाध्यता हटाउन विद्यार्थीलाई आवश्यक सीप सिकाउन खोजिएको हो ।’
विद्यालय तहदेखि नै व्यावहारिक तथा सीपमूलक शिक्षा प्रदान गर्दा विद्यार्थीहरू आत्मनिर्भर बन्नुका साथै भविष्यमा रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न सक्षम हुने अपेक्षा गरिएको छ ।